समाचार

पुजारी हत्यापछि वडाध्यक्ष नै फरार

rautahat pujari

१४ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति पौने ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीको ‘अनुसन्धान’ देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहतिर सोझियो ।

नरुल्लाह जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् । उनको करुनियामा घर छ । २०७४ को स्थानीय निर्वाचनमा उनले तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट चुनाव जितेका थिए । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोली वडाध्यक्ष नरुल्लाहको खोजीमा जुटे तर नरुल्लाह पुजारीको हत्या भएको दिनदेखि घरमा छैनन् । उनीसँगै अन्य तीन जना फरार रहेको प्रहरी स्रोत बताउँछ । उनी घटना भएकै दिन भागेर भारत पुगिसकेको प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतका अनुसार नरुल्लाह चुनावअघिसम्म रौतहट प्रहरीको सुराकीमा पटकपटक प्रयोग भएका व्यक्ति हुन् । २०६४ सालबाटै प्रहरी अधिकारीहरूलाई प्रभावमा पारेर अपराध धन्दा चलाउने गरेका उनी पछिल्लोपटक हत्या आरोपमा खोजीमा परेपछि फरार छन् । पुजारीको हत्या हुनु केही साताअघि नरुल्लाह केही व्यक्तिका साथ मन्दिरनजिकै आएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो । त्यसबेला पुजारीसँग उनको भनाभन पनि भएको थियो ।

देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेलले पनि वडाध्यक्ष नरुल्लाह सम्पर्कविहीन भएको बताए । ‘केही समयदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, कोरोना संक्रमणका बेला जनप्रतिनिधि नै यसरी सम्पर्कविहीन हुनुले गम्भीर आशंका जन्माएको छ,’ उनले भने, ‘मैले धेरैपटक सम्पर्क गर्न खोजें तर हुन सकेको छैन । पुजारीको हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेको छु ।’ मेयर पटेल जसपाका रौतहट जिल्ला संयोजक हुन् । हाल फरार रहेका उनी वडाध्यक्षबाहेक पार्टीको अन्य भूमिकामा नरहेको मेयर पटेलले बताए ।

जिल्लाभित्र हुने आपराधिक गतिविधिको प्रहरीमा सुराकी दिएपछि नरुल्लाह २०७० अघिसम्म चर्चामा थिए तर आवरणमा प्रहरी सुराकी बनेका उनको धन्दा भित्रभित्रै आफ्नै अपराधको जालो सञ्चालनमा देखिएपछि ६ वर्षअघि उनलाई प्रहरीले पक्राउ गर्न पनि खोज्यो । भागेर बसेका नरुल्लाहले पछि संघीय समाजवादीबाट चुनाव उठेर वडाध्यक्षमा जितेका थिए । चुनाव जित्नुमा पनि उनले प्रहरीसँगको सुराकी सम्बन्धलाई प्रयोग गरेको स्रोत बताउँछ ।

नरुल्लाहकै वडाका सदस्य कृष्णनन्दन यादवले दस दिनदेखि उनी सम्पर्कविहीन भएको बताए । ‘नरुल्लाहजीको फोन पनि लाग्दैन, वडामा कसैलाई जिम्मेवारी दिनुभएको छैन, हामीले सिफारिसको कागजमा हस्ताक्षर गर्न कैयौंपटक सम्पर्क गर्न खोज्यौं,’ उनले भने, ‘सम्पर्क हुन सकेको छैन । पुजारी हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेका छौं ।’

प्रहरीले देशभर अपराध अनुसन्धान तथा नियन्त्रणका लागि घुमुवा प्रहरी खटाउँदै आएको छ । घुमुवासँगै प्रहरीले संदिग्ध व्यक्तिहरूलाई सुराकीका रूपमा परिचालन गर्छ । उनीहरूका गलत धन्दाले प्रहरी संगठन नै बदनाम हुने गरेको छ । पुजारी हत्यापछि फरार रहेका नरुल्लाह त्यसको पछिल्लो उदाहरण हुन् ।

घुमुवा र सुराकी परिचालनको मापदण्ड छैन
पछिल्लोपटक रौतहटमा प्रहरीले सुराकीमै परिचालन गरेका व्यक्तिबाट पुजारी मारिएको आशंकाले कस्ता व्यक्ति सुराकीमा खटिन्छन् भन्ने कुरा सतहमा ल्याइदिएको छ । वर्षौंदेखि सुराकी परिचालनसम्बन्धी निर्देशिका बन्नुपर्ने माग उठे पनि गृह मन्त्रालय यसमा मौन छ । गत वर्ष सुराकी र सादा पोसाकका प्रहरी परिचालनसम्बन्धी कार्यविधि बनाएर प्रहरी प्रधान कार्यालयले स्वीकृतिका लागि गृहमा पठाएको थियो । तर त्यो अहिलेसम्म पारित हुन नसकेको उच्च स्रोत बताउँछ । यस विषयमा निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली बोल्न चाहेनन् । तर उनले सुराकी र सादा पोसाकका सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउन प्रहरी नेतृत्वलाई विश्वास गर्नुका साथै जवाफदेही बनाउनुपर्ने बताए ।

नेतृत्वले विश्वास गुमाए दण्डको भागीदार उही हुनुपर्ने उनको भनाइ छ । ज्ञवालीले घुमुवा र सुराकीलाई गम्भीर किसिमका अपराधमा मात्रै खटाउनुपर्ने र आर्थिक मामिलासँग जोडिएका विषयबाट टाढै राख्न आवश्यक रहेको बताए । ‘नेतृत्व सही र पारदर्शी भयो भने तलका प्रहरीले पदको दुरुपयोग अपराध गर्ने हिम्मत गर्दैनन्,’ ज्ञवालीले भने, ‘त्यसैले नेतृत्वलाई विश्वास, जवाफदेही र दण्डको भागीदार हुने कार्यविधि र मापदण्ड भए सुराकी र घुमुवाबाट सिर्जित बदनामीको अन्त्य हुन्छ ।’ आफू प्रदेश १ प्रहरी प्रमुख हुँदा केन्द्रबाट खटिएका घुमुवालाई सीमा क्षेत्र र आर्थिक मामिलासँग जोडिएका विषयमा प्रवेश नै नदिएको उनले स्पष्ट पारे ।

३० वर्षे प्रहरी सेवाको अधिकांश समय सादा पोसाकमा बसेर काम गर्ने युनिटमा बिताएका प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल अपराध अनुसन्धान तथा नियन्त्रणमा घुमुवा र सुराकी परिचालनको अवधारणा सही भए पनि त्यसलाई सञ्चालन गर्ने नेतृत्व गलत भइदिँदा सिंगो संयन्त्र नै बदनाम हुन पुगेको बताउँछन् । ‘घुमुवा र सुराकी परिचालनको अवधारणा अपराध अनुसन्धान र नियन्त्रणका लागि हो तर यहाँ आर्थिक संकलन र शक्ति आर्जन तथा विरोधी पक्षलाई सिध्याउने प्रयोजनमा यो शक्ति खर्च गरियो,’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘एउटा व्यावसायिक र इमानदार अधिकृत कुनै युनिटमा जाँदा त्यही घुमुवा र सुराकी सही प्रयोजनमा परिचालन हुन्छन् भने बदनामीको छवि कमाएको अधिकृत गयो भने किन विवादमा तानिन्छ ?’

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले पनि सिभिल सुराकीसम्बन्धी व्यवस्था संस्थागत रूपमै आवश्यक भएको बताए । अहिले त्यस्तो प्रावधान संस्थागत वा कानुनी हैसियतमा नभएको उनको भनाइ छ । खासगरी सहरी सीमावर्ती क्षेत्रमा सरुवा भएर जाने प्रहरी नेतृत्वको छवि व्यावसायिक चरित्रको हुनुपर्ने उनको भनाइ छ । मल्ल सुराकीका रूपमा परिचालित सर्वसाधारण अपराधकै भेषमा खटिने हुँदा त्यसप्रति खटाउने प्रहरी नेतृत्व चनाखो र सतर्क हुन आवश्यक भएको बताउँछन् ।

२०६६ देखि २०६८ सम्म रौतहट प्रहरी प्रमुख भएर बसेका अर्का पूर्वडीआईजी पीताम्बर अधिकारी सुराकी र घुमुवाका आपराधिक चरित्र र व्यवहारका कारण सिंगो प्रहरी संगठन बदनाम हुन पुगेको स्विकार्छन् । ‘सुराकीका रूपमा सम्पर्कमा आउने व्यक्तिको बाहिर एउटा र भित्र अर्कै रूप हुने हुँदा त्यसप्रति नेतृत्वमा बसेका अधिकारीले ख्याल गर्नुपर्छ, बदनामी वा व्यावसायिक चरित्र कुन रोज्ने, त्यहींबाट झल्किन्छ,’ उनले भने, ‘यसका लागि प्रहरी नेतृत्वबाटै चरित्र सुधार गर्न आवश्यक छ ।’

व्यक्तिपिच्छेका घुमुवा
नेपाल प्रहरीमा विशेष किसिमका अपराध अनुसन्धान तथा नियन्त्रणमा काम गर्ने दर्जनौं युनिट छन् । केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, साइबर ब्युरो, लागूऔषध अनुसन्धान ब्युरो, उपत्यकाको महानगरीय अपराध महाशाखाजस्ता युनिटको चरित्र नै सादा पोसाकमा परिचालन हुनु हो ।

यी युनिटका कामकारबाही पनि सुराकी र हुलिया परिवर्तन गरेर खटिने किसिमका छन् । यसबाहेक हरेक जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा काम गर्ने अधिकांशलाई सादा पोसाकमै खटिने गरी प्रहरीले कार्यविधि नै जारी गर्‍यो । तर यी युनिटबाहेक प्रहरी महानिरीक्षकदेखि महानगरीय कार्यालय, प्रदेश, संघीय इकाई, जिल्ला, वृत्त/प्रभाग तथा वडा कार्यालय प्रमुखले मनपरी रूपमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्दै आएका छन् । आवरणमा सूचना संकलन र मातहत जनशक्तिका कामकारबाहीको निगरानीका लागि संयन्त्र परिचालन गर्नुपरेको दाबी प्रहरीको छ ।

तर यसको खास उद्देश्य आर्थिक आर्जनमा जोडिएको छ । सादा पोसाकका सुरक्षाकर्मी तस्करी, चोरीसिकार र अन्य जघन्य अपराधमा मुछिने गरेका छन् । लागूऔषध, जालीनोट, सुन तस्करी, सीमा अपराध, जबर्जस्ती असुलीलगायतका धन्दामा पटकपटक घुमुवा प्रहरी मुछिँदै आएका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले व्यावसायिक चरित्र र पदीय मर्यादाविपरीत काम गर्ने सादा पोसाक वा अन्य प्रहरी जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइएको बताउँछन् । ‘पदको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन, जो–जसले दुरुपयोग गरेको छ वा अपराधमा संलग्न छ, ऊ कारबाहीको भागीदार हुनैपर्छ, भएका पनि छन् ।’​

अपराधमा सुराकी
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले २०७६ पुस १७ गते उपत्यकामा कार्यरत २५ घुमुवा प्रहरीलाई फिर्ता बोलाए । त्यसको कारण थियो, घुमुवाका नाममा आपराधिक समूहसँग मिलेर असुली गरेको । सूचना संकलनका लागि खटाइएका केही घुमुवाहरू पदको दुरुपयोग गरी आपराधिक धन्दामा संलग्न भएको देखिएपछि सबैलाई एकैपटक फिर्ता बोलाएर अपरेसनल काममा खटाइएको थियो ।

गएको साउन १३ गते सुन्धाराको सुनचाँदी तस्करी प्रकरणमा दरबारमार्ग वृत्तका दुई घुमुवा प्रहरी बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठ आपराधिक समूहसँग मिलेर लुटपाटमै जोडिएपछि पक्राउ परे । भारत गुजरात घर भई काठमाडौंमा बस्दै आएका देवानसिंह पटेल र कौशल पटेलसँग मिलेर घुमुवा प्रहरीले सुन लुटपाटको योजना बनाएका थिए । कौशल प्रहरीको सुराकीको भूमिकामा थिए । २०६० सालपछि प्रहरीको सुराकी बनेर आफ्ना विरोधी तह लगाउन सक्रिय बनेका बारा प्रस्टोकाका अल्ताफ भनिने इल्ताफ हुसेन अन्सारी पछि कुख्यात जालीनोट तस्कर बनेर झुल्किए । इल्ताफ बारा, पर्सा, रौतहटलगायत सीमावर्ती जिल्लामा बसेर त्यहाँ सरुवा भएर जाने अधिकांश प्रहरीको विश्वासिलो सुराकीमा पनि दरिए ।

उनै इल्ताफ जालीनोट कारोबारीका रूपमा पछि सक्रिय बने । उनलाई सुराकी परिचालन गर्ने केही उच्च प्रहरी अधिकारीहरू पनि जालीनोट कारोबारमै शंकाको घेरामा छन् । त्यति मात्र होइन, २०७० असार २३ गते कोटेश्वरबाट ३५ केजी सुन बरामद भयो । सुन बरामदसँगै तस्कर र प्रहरीबीच कमिसन विवाद छताछुल्ल बन्यो । ‘३५ केजी सुन काण्ड’ का रूपमा चिनिएको त्यस घटनामा ‘सुराकी कमिसन’ नमिलेकै कारण राज्यले दिने प्रोत्साहन भत्ता कटौती हुन पुग्यो । त्यसअघि जति तस्करीको सामान बरामद गरे पनि सुराकीले १५ प्रतिशत र अनुसन्धान गर्नेले १० प्रतिशत भत्ता पाउँथे । त्यही काण्डले उक्त व्यवस्था संशोधन गरी जति सामान बरामद गरे पनि १० लाख वा १५ प्रतिशतमा जुन कम हुन आउँछ, त्यति मात्रै दिने व्यवस्था ल्याइयो ।

२०७४ फागुन १८ गते ३३ केजी सुन काण्डमा सनम शाक्यको हत्या भयो । जुन ३ केजी सुन काण्डका रूपमा अझै चर्चामा छ । घुमुवा प्रहरी र त्यसमार्फत सूचना संकलनमा सहयोगीका रूपमा देखिएका व्यक्ति अपराध धन्दामा कसरी मुछिन्छन् भन्ने यी केही तथ्य हुन् । कान्तिपुर दैनिकमा मातृका दाहाल र शिव पुरीले खबर लेखेकाा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *