१४ भदौं, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा अब संक्रमितहरुका लागि ‘सिस्टर रोबोट’ले सेवा दिने भएको छ ।
सानो पाइला संस्था वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको सिस्टर रोबोटले वीरगंजको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुको लागि खाना, औषधि तथा अत्यावश्यक समान पुर्याई दिने भएको हो ।
सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबोट हस्तान्तरण गरिएको छ ।
सानो पाइला संस्थाका कर्मचारी तथा भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले कोभिड महामारीमा अस्पतालमा काम गर्ने धातुबाट बनेको विद्युतीय सिस्टर रोबोट आविष्कार गरेको संस्थाका कार्यकारी निर्देशक कन्चन झाले जानकारी दिए ।
‘संक्रमितलाई खाना, खाजा, औषधि वा अन्य समान दिन रोबोटको सहयोग लिन सकिन्छ,’ उनले भने, ‘अत्यावश्यक समयमा बाहेक अन्य समयमा स्वास्थ्यकर्मीहरु संक्रमितको नजिक जान पर्दैन ।’
सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरेपछि दैनिक रुपमा त्यसले काम गर्छ । सिस्टर रोबोट उपलब्ध गराएकोमा नारायणी अस्पताल वीरगंजले सहयोगी संस्थालाई धन्यवाद दिएको छ ।