
१५ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम नम्बर दिएको आरोपमा सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ ।
सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका विद्यार्थीले एसईईमा नम्बर कम दिएकाले नतिजा नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीमाथि आइतबार कुटपिट गरेका हुन् ।
विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न विद्यार्थी फरार छन् ।
नौ जनाको समूहमा आएका विद्यार्थीमध्ये तीन जनाले शिक्षकद्वयमाथि कुटपिट गरेका बताइएको छ । विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीको नाक, मुखसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ ।
यस वर्षको एसइईमा गणेश माविबाट छात्रछात्रा गरी ६० जना सहभागी थिए। उननीहरुमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको विद्यालय प्रशासनले जनाएको छ । यस वर्ष विद्यालयले पठाएको नम्बरर्क आधारमा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको ग्रेड निर्धारण गरेको थियो ।
रिजल्ट ‘सी’ आएका विद्यार्थीले शिक्षकलाई कुटेका हुन् । नतिजा सी आए पनि विज्ञान विषयबाहेक अन्य विषय पढ्न पाइने भन्दा भन्दै कुरै नसुनी विद्यार्थीले आफूहरुमाथि कुटपिट गरेका पीडित शिक्षकहरुले बताएका छन् । कुटपिटबाट घाइते शिक्षकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।