
१५ भदौ, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७८ वर्षको उमेरमा मृत्यु भएको छ । गएराति ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लल्याइएको थियो । उनलाई साउन २४ गते काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उनमा भदौ २ गते कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा राखेर उपचार भइरहेको थियो । तर, अचानक स्वास्थमा समस्या आएपछि मृत्यु भएको मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिए । स्वर्गीय चिरन्जीवीलाल सरावगीको सोमबार दिउँसो काठमाडौं स्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ ।
वीरगन्जमा बिक्रम संवत २००० सालमा जन्मनु भएका चिरन्जीवीलाल सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मारवाडी परिषदका केन्द्रीय अध्यक्ष, लायन्स क्लवका गभर्नर रहेका थिए । साथै धेरै सामाजिक संघ संस्थामा आवद्ध थिए । उनका दुई छोरा र एक छोरी छन् ।