
१५ भदौ, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ ।
सोमवार साँझ ८४ वर्षको उमेरमा मुखर्जीको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन् ।
‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन् ।
केही दिनअघि नै पनि मुखर्जीको निधन भएको खबर फैलिएको थियो । तर सो खबर गलत रहेको कुरा उनको छोराले नै ट्वीटमार्फत् बताएका थिए । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए ।
सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।