समाचार

कुखुराको मासु सस्तिए पनि बिचौलियालाई नै बढी फाइदा

Kukhura

१६ भदौ, काठमाडौं । हरियो तरकारीको मूल्य उचाइमा पुगिरहेका बेला ब्रोइलर कुखुराको मासु सस्तो भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाउँदै गत शुक्रबार प्रतिकिलो २ सय ४० रुपैयाँ तोकेको छ ।

‘कुखुरा मासु बिक्री नै भएको छैन । मूल्य निरन्तर घटाउँदै बिहीबार २ सय ५५ र शुक्रबार पुनः २ सय ४० रुपैयाँ तोकेका छौं,’ संघका अध्यक्ष जगबहादुर बीसीले भने, ‘अवस्था यस्तै रहे मूल्य थप घट्न सक्छ ।’

कुखुराको मासु सस्तिए पनि उपभोक्ता किसानभन्दा बिचौलियालाई फाइदा भएको छ । जिउँदो कुखुरा तराईमा प्रतिकिलो १ सय ३५ रुपैयाँमै बिक्री भइरहेको छ । उपत्यकामा जिउँदो ब्रोइलर किलोको १ सय ७० रुपैयाँ तोकिए पनि किसानले करिब १ सय ५०/६० रुपैयाँ मात्र पाएका छन् । ‘जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ तोकिएको छ । तर हामीले किलोको १ सय ४० देखि १ सय ५० रुपैयाँ मात्रै पाएका छौं,’ ललितपुरको टीकाथलीस्थित गरिखान देऊ कृषि तथा पशुपन्छी फार्मका सञ्चालक नवीन कार्कीले भने, ‘दाना उद्योग, ह्याचरी र कोल्ड स्टोरका कारण किसानले मूल्य पाएनन् ।’ बजारमा खपत उस्तै रहे पनि बिचौलियाको मिलेमतोमा किसानको मूल्य घटाएको उनको आरोप छ । सरकारले पनि बिचौलियाको मात्रै कुरा सुन्दा किसान पीडित बनेको उनको भनाइ छ ।

‘कोरोनाको बहानामा संघले बिक्री नभएको भन्दै मूल्य घटायो । संघमा दाना उद्योग, ह्याचरी र ठूलो कोल्ड स्टोरका सञ्चालक नै छन् । एउटै व्यक्तिले तीनैवटा व्यवसाय सञ्चालन गरेका छन्, उनीहरूले सेटिङमा मूल्य घटाउँछन्,’ कार्कीले भने, ‘जिउँदो कुखुराको मूल्य घटाएर कोल्ड स्टोरले मौज्दात गरिरहेका छन् । त्यसपछि अभाव बनाएर किलोमै ४ सय रुपैयाँमा बेच्छन् ।’ त्रिसिमा पोल्ट्री फार्मका सञ्चालक देवकुमार साहको भनाइ पनि उस्तै छ ।

सर्लाहीमा एक किलो जिउँदो ब्रोइलर कुखुरा १ सय २५ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए । ‘अहिले लागत नै बढी छ । कुखुरा बिक्री गरेर लागत खर्च पनि उठ्दैन,’ उनले भने, ‘२५ सय चल्ला हालेको थिएँ । यही अवस्था रहे करिब डेढ लाख नोक्सानी हुने देखियो ।’

संघले मासुको मूल्य २ सय ४० रुपैयाँ तोके पनि खुद्रामा २ सय ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ब्रोइलर कुखुराको मूल्य घट्दा सर्वसाधारणलाई केही राहत भएको छ । किसानले भने लागत मूल्य पनि उठाउन सकेका छैनन् । चल्लाको मूल्य, दाना, भिटामिनसहित एउटा कुखुरालाई ४० दिनसम्म पाल्दा करिब २ सय रुपैयाँ खर्च हुने चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विष्णु खड्काले जानकारी दिए । तर जिउँदो कुखुराको भाउ घटेर उपत्यकामा प्रतिकिलो १ सय ७० रुपैयाँ हुँदा समस्या भएको उनले बताए ।

व्यवसायीका अनुसार अहिले व्यापार छैन । कोरोना संक्रमण फैलिने क्रम तीव्र भएका कारण पसल खुल्न पाएका छैनन् । छिट्टै बेच्नुपर्ने प्रतिस्पर्धाका कारण किसानले मूल्य नपाएको बताएका छन् ।

संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ तोके पनि किसानले तोकेको त्यसभन्दा १० रुपैयाँ कम पाउँछन् । व्यवसायीले बिल बनाउँदा थप १ प्रतिशत कम मूल्य दिन्छन् । ठूलो डिपार्टमेन्ट स्टोरसँगको मिलेमतोमा संघले मूल्य घटाएको चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विष्णु खड्काको भनाइ छ । सस्तो हुँदा स्टोरहरूले पर्याप्त मात्रामा खरिद गरेर मौज्दात गर्छन् । त्यसपछि बजारमा अभाव देखाएर बढी मूल्यमा बिक्री गर्दै आएको उनले बताए । किसानले उधारोमा दाना, चल्ला किन्छन् । चल्ला हुर्केपछि मूल्य निर्धारणमा पनि त्यस्तै व्यवसायीकै एकाधिकार भएको राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिका संयोजकसमेत रहेका खड्काले बताए ।

‘जिउँदो कुखुराको मूल्य १ सय ७० रुपैयाँ छ । तराईमा गर्मी बढेको छ, जसरी नै बेच्न पाए हुन्थ्यो भन्नेमा किसान छन् । तराईबाट प्रतिकिलो १३४–५० मा आइरहेको छ,’ खड्काले भने, ‘बिक्री नभएर कुखुरा मर्ने अवस्था पनि आएको छ । त्यही भएर सस्तोमा बेच्न बाध्य भए ।’ २५ दिनको अवधिमा कुखुराको मूल्य प्रतिकिलो ७० रुपैयाँले घटेको उनले बताए । अब मूल्य घटे किसान विस्थापित हुने उनको भनाइ छ ।

यता संघका अध्यक्ष बीसी पनि कुखुराको तौल राम्रो भए प्रतिकिलो १ सय ७० रुपैयाँ हुँदा किसानलाई घाटा नलाग्ने दाबी गर्छन् । सुरुमा लकडाउन हुँदा किसान अत्तालिए । सस्तोमा बिक्री भयो । घाटा लागेपछि किसानले चल्ला राखेनन् । त्यसपछि बजारमा मासु अभाव भयो । साउन पहिलो/दोस्रो सातासम्म मूल्य बढेर ३ सय ९० देखि ४ सय २० रुपैयाँसम्म पुग्यो । ‘कुखुराको मासुको मूल्य बढेपछि किसानले महँगोमा चल्ला राखे । यसबीचमा केही सहज पनि भएको थियो,’ अध्यक्ष बीसीले भने, ‘तर सरकारले निषेधाज्ञा जारी गरेपछि धेरै समस्या भयो । त्यसपछि मासु बिक्री भएन ।’ यसअघि संघले ०७६ पुस पहिलो साता प्रतिकिलो मासु २ सय ५० रुपैयाँ तोकेको थियो । माघमा मासु ४ सय २० रुपैयाँसम्म पुगेको बीसी बताउँछन् ।

सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे २ देखि ३ लाख किलो कुखुराको मासु बिक्री हुन्छ । निषेधाज्ञाका कारण करिब ३० प्रतिशत मात्रै खपत भएको संघले जनाएको छ । ‘चैतको लकडाउन खुलेपछि मासु क्षेत्रमा पुनः चहलपहल बढेको थियो । खपत पनि बढिरहेको थियो,’ संघका सचिव देवकुमार गिरीले भने, ‘होटल, क्यान्टिन, क्याफेलगायत व्यवसाय बन्द छन् । होम डेलिभरी पनि बन्द छ । त्यसैले बजारमा करिब ३० प्रतिशत मात्रै खपत भइरहेको छ ।’

होटल/रेस्टुरेन्ट र एयरलाइन्समा २५ देखि ४० प्रतिशत खपत हुने गिरीले जानकारी दिए । उक्त क्षेत्र ठप्प हुँदा मासुको बजार स्वतः घटेको उनको भनाइ छ । ‘अहिले कुखुरा डम्पिङ गर्नुपर्ने अवस्था आयो । ब्रोइलर कुखुरा होल्ड गर्न मिल्दैन । जति धेरै दिन भयो, दाना बढी खाने हुन्छ,’ गिरीले भने, ‘त्यसैले किसानले पनि सक्दो चाँडै बिक्री गर्न चाहेका छन् ।’ कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस