
१६ भदौ, काठमाडौं । केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
जेलर बाँस्कोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो । अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो ।
मृत्यु हुने अन्य दुईमध्ये एकजनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।
त्यस्तै मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृत्यु भएको जेलर बाँस्कोटाले बताए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।
जेलर बाँस्कोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि संक्रमण भएको छ ।