
१६ भदौ, रौतहट । रौतहटको गरुडास्थित विजयराम चमार मृत्यु प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै प्रहरी निरिक्षक निविन कुमार सिंह सहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।
गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया का २० वर्षीय निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका उनको सोधपुछमा संलग्न इलाका प्रहरी कार्यालय गरुडाका सिंहसहित प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई निलम्बन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।
प्रहरी निरिक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्बन गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तरीय निर्णयानुसार निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र मुन्ना कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको हाे ।