
१६ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणबाट महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका ६०, चितवनका ५२, काठमाडौंका ३५ र ७० तथा मकवानपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
यस्तै, मंगलबार नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २२ हजार १७८ जना निको भएर घर फर्किएका छन् ।