२० भदौ, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा कार्यरत् एक महिलाको शव फेला परेको छ । शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको हो ।
भैंसेपाटीमा बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । उनी चार दिनदेखि बेपत्ता थिइन् । गीताको हत्या भएको आशंका गरिएको छ ।
घटना अनुसन्धानको सिलसिलामा मृतकका भतिजा निर्मल केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।
केसी ललितपुरस्थित अल्का अस्पताल–२ मा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिइन् । हत्या आशंकामा भतिजा निर्मललाई प्रहरीले भैंसेपाटीबाट पक्राउ गरेको हो । मृतक पनि भैसेपाटीमा परिवारसँग बस्दै आएकी थिइन् ।
गएराति गोदावरीको मुख्य सड्कबाट २ सय मिटर भित्र शव फेला परेको थियो । शनिवार बिहान आफन्तले उनको सनाखत गरेका छन् । गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।