२१ भदौ, ललितपुर । बिहीबार विवाद भएपछि रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आइतबार फेरि हुँदैछ । ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।
ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको हो ।
तर, प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचीमा पनि ४ सय ३४ जना छन् । स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिँदैछ ।
कोरोना भाइरसको रोकथामका लागि भन्दै मच्छिन्द्रनाथको रथ तान्न प्रशासनले यसअघि अनुमति नदिंदा असन्तुष्ट समुहले जर्बजस्ती रथ तानेको थियो । यसलाई रोक्ने क्रममा झडप समेत भएको थियो । यसपटक मच्छिन्द्रनाथको जात्रा हुन नसक्दा क्षमा पुजा समेत गरिएको थियो ।
बिहिबार भएको घटनापछि प्रहरीले झडपमा संलग्नलाई खोजी खोजी पक्राउ गरेको थियो । यसप्रति नेवाः समुदायका विभिन्न संघसंगठनले आपत्ती जनाएका थिए । मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपबारे अन्तर्राष्ट्रिय मिडियाले समेत प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए ।