
२१ भदौ, रुकुम । रुकुम पश्चिममा १६ किलो लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । आठविसकोट नगरपालिका–५ बाट १६ किलो अफिमसहित तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
जाजरकोटको नलगार्ड नगरपालिका–९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई अफिम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
आठबिसकोट नगरपालिकाका विभिन्न क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई प्रक्राउ गरिएको डिएसपी केसीले बताए ।
शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानतलासी गर्दा उनीहरूले बोकेको झोलामा १६ किलो अफिम फेला परेको डिएसपी केसीले बताए । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।