
२२ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को कारण बन्द रहेको मेट्रो सेवा सोमबारदेखि सुरु भएको छ । मार्चको अन्तिम साताबाट लगाइएको लकडाउनको कारण भारतमा मेट्रो सेवा पनि बन्द भएको थियो ।
अगष्टको अन्तिममा भारतको सरकारले अनलकको चौथो चरणमा जारी दिशानिर्देश अनुसार सोमबारदेखि मुलुकका राज्यहरुमा चरणबद्ध रुपमा मेट्रो सेवा सुरु भएको हो ।
मेट्रोमा यात्रा गर्नेले अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको छ । मेट्रोभित्र पनि भौतिक दूरी कायम गरेर मात्र यात्रु राखिएको छ ।
हाल दिल्ली र चेन्नाइ मेट्रोले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि बेलुका ८ बजेसम्मका लागि सेवा सुरू गरेका छन् ।
मुम्बइ, कोलकाता लगायतका स्थानमा भने महामारी बढी भएकाले जारी लकडाउन अन्त्यपछिको अवस्था विश्लेषण गरेर मात्र निर्णय गरिने भारतीय केन्द्रीय शहरी तथा आवास मन्त्री हरदीप सिंह पुरीले बताएका छन् ।