
२३ भदौ, काठमाडौं । भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले मुख्य कारोबारी शंकर खड्का र लागुऔषध बोक्न प्रयोग गरिएको ना ३ ख ९८९ नम्बरको ट्रकसहित विष्णु प्रधान र डम्बर प्रधानलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार विष्णु र डम्बर भक्तपुरको सल्लाघारी र शंकर खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
विष्णु र डम्बर गाडीचालक हुन् । लागुऔषध खड्काको घरसम्म पुऱ्याउने जिम्मा विष्णु र डम्बरले लिएको प्रहरीले बताएको छ । बरामद लागुऔषधमध्ये ९ हजार ३ सय थान इन्जेक्सनमा प्रयोग गरिने डाइजेपाम र ३ हजार ६ सय थान नाइट्राजेपाम रहेको छ ।
ट्रकभित्र झोला लुकाएर ल्याएको अवस्थामा सो लागुऔषध बरामद गरिएको एसएसपी थापाले बताए । लागुऔषध प्रयोगकर्ताले डाईजेपाम र नाइट्रोजेपामलाई मिलाएर सिरिन्जमार्फत प्रयोग गर्छन् ।
पक्राउ परेकाहरुमाथि महाशाखाले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसएसपी थापाले जानकारी दिए ।