२३ भदौ, पाेखरा । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत, युवती बलात्कार अभियोगमा पक्राउ परेका छन् । पोखरा ७, मासबार घर भइ अस्पतालमा कार्यरत् लेखा अधिकृत ३७ वर्षीय बामदेव सुवेदीलाई कास्की प्रहरीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको हो ।
अस्पतालमै कार्यरत २ जना महिलाले सुवदीले आफूहरुलाई जबर्जस्ती बलात्कार गरेको भन्दै उनीविरुद्ध कास्की प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
आँखा अस्पतालका कार्यरत ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाक धम्की तथा प्रलोभन देखाई करणी गरेको उनीविरुद्ध आरोप लगाएका छन् ।
उजुरी दिएकामध्ये एक महिलाले आफूलाई सुवेदीले ४ वर्षदेखि बलात्कार गर्दै आएको दाबी केही दिन पनि गरेकी थिइन् । उनको सो आरोपपछि अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन गरी घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ ।
त्यसबेलासम्म पीडित भनिएका युवतीले प्रहरीसमक्ष उजुरी गरेका थिइनन् । हाल अर्की युवतीको समेत संयुक्त उजुरी परेपछि सुवेदी प्रहरी फन्दामा परेका हुन् । प्रहरीका अनुसार निज विरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।