२३ भदौ, काठमाडौं । सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२१ न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडको प्रबन्धक पदमा रहेका बेला ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं–३१ का ४४ वर्षीय राजकाजी खड्गी पक्राउ परेका हुन् ।
खड्गी सोही सहकारीका पूर्ब प्रवन्धक हुन् । उनले ७ वर्ष काम गरेर गत जेठ मसान्तसम्म जागिर छाडेका थिए ।
‘रकम हिनामिना गरेपछि जागिर छाडेको बुझियो, त्यसपछि हामीले पक्राउ गरेर कारबाही अघि बढाएका छौँ’ नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । उनलाई प्रहरीले ललितपुरको धापाखेलबाट प्रकाउ गरेको हो ।
खड्गीलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कार्कीले अनलाइनखबरलाई बताए ।