
२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाएर जनजीवन सहज बनाउने प्रयास गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएकोमा बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।
अघिल्लो साता पनि निषेधाज्ञामा केही हेरफेर भएकोमा बुधबार थप खुकुलो बनाइएको हो । जसअनुसार आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् ।
सवारीमा जोर विजोर
उपत्यकामा बिहीबारदेखि जोर विजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा आउने भएको छ । अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।
निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । तर मोटरसाइकल तथा स्कुटरमा पनि भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।
सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।
चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । सवारी साधनको ढोकामा स्यानिटाइजर हुनुपर्छ भने दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्छ ।
यस्तै भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर चलाउन पाइनेछ ।
मालबाहक सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने निषेधाज्ञा आदेशमा उल्लेख छ ।
अत्यावश्यक वस्तुको पसल साँझ पनि
उपत्यकामा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु अब साँझको समयमा पनि खुल्ने भएको छ । सुरुमा विहान ९ बजेसम्म खेल्न दिइएको यस्ता पसललाई भदौ १७ गतेदेखि ११ बजेसम्म खुल्न दिइएको थियो । अब बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ ।
यो निर्णयअनुसार अब खाद्यवस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल तरकारी माछा मासु पसल विहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछन् ।
फुटपाथ र ठेलाको व्यापार पनि खुला गरेको छ । योसँगै स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खुला हुनेछन् ।
सवारी साधन मर्मत गर्ने वर्कसपहरु हरेक दिन विहान ८ देखि बेलुका ८ बजेसम्म खुल्नेछ ।
के–के खोल्न पाइँदैन र ?
प्रशासन कार्यालयका अनुसार उपत्यकमा अझै खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न प्रतिबन्ध गरेको छ ।
त्यस्तै धार्मिक, साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अरु गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रंस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि सञ्चालन गर्न पाइँदैन ।
उद्योग, ब्यापार, निर्माण कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत कामदार ओसार पसार गर्न प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेकाे सूची यस्ताे छ ।