
२५ भदौ, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १९ जना पोखरा महानगरका र बाँकी आसपासका जिल्लाका छन् ।
आज थप भएका संक्रमितमध्ये स्याङ्जाको पुतलीबजारका १२ जना, बागलुङको बरेङ, गलकोट र जैमिनीका गरी नौजना छन् । यस्तै तनहुँको भिमादमा तीनजना, पर्वतका एकजना, नवलपुरको कावासोतीका चार र देवचुली नगरपालिकाका एकजना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै प्रदेशभरि कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ । संक्रमितमध्ये प्रदेशभरि १ हजार ८ सय ६ जना निको भएका छन । हाल सक्रिय संक्रमित ९ सय जना छन । २२ जनाको मृत्यु भएको छ । प्रदेशभरि हालसम्म ५४ हजार ९२ जनाको स्वाबको पीसीआर परीक्षण भएको छ ।