
२५ भदौ, काठमाडौं । उपत्यकामा तीन हप्ता देखि लागू भएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै ठेलागाडामा व्यापार व्यवसाय गर्नेदेखि अन्य सम्पूर्ण व्यवसाय बार अनुसार सञ्चालनमा आउने भएका छन् भने घर जग्गा सम्बन्धी कामका लागि पनि आजबाट उपत्यकाका मालपोत कार्यालयहरु सञ्चालनमा आएका छन् ।
बिहीबार र शुक्रबार अत्यावश्यक परेका घरजग्गा रोक्का र फुकुवाको काम गर्ने तथा आइतबारदेखि घरजग्गा किनबेच खुल्ला गर्ने निर्णय भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
उपत्यकामा साउनको २८ देखि भिडभाड भएको भनेर सेवा प्रवाह बन्द भएको थियो । काठमाडौ बाहिरको मालपोत कार्यालय त्यहाँको स्थानीय प्रशासनको निर्णय अनुसार चल्नेछन् । उपत्यकाको हकमा पनि स्थानीय तह अथवा वडाहरुमा आलोपालो गरेर कुन स्थानीय तहमा कुनबार खुल्छ भनेर तालिका प्रकाशित हुनेछ । तालिका साउन २८ गतेभन्दा अगाडीका अनुसार हुने भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायाण पौडेलले भने । सम्बन्धित मालपोत कार्यालयले सम्बन्धित स्थानीय तहलाई सो तालिकाको जानकारी पठाउनेछ ।
आइतबारदेखि १० देखि ५ बजेसम्म कार्यालय खुला रहनेछ । यदि भिडभाड छ भने ५ बजेभन्दा बढी समय पनि कार्यालय खुलाउने महानिर्देशक पौडेल बताउँछन् । तर कुन बार के सेवा दिने भन्ने चाहि निर्धारण हुनेछ । सबै सेवा एकैपटक पाइनेछैन । साथै, आइतबारबाट स्थानीय तथा वडामा विभाजन गरेर आलोपालो प्रणालीमा कारोबार खुल्ला गर्ने निर्णय भएको पनि उनले बताए ।