समाचार

१६ करोड बढी भ्रष्टाचार गरेको आरोपमा इन्जिनियर गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा

Akhtiyar CIAA Nepal

२५ भदौ, काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय विराटनगरका तत्कालीन डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्ताविरूद्ध मुद्दा दायर गरेको छ ।

पदमा रहँदा १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोमा गुप्ताविरूद्ध बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । इन्जिनियर गुप्ता सहित १३ जनाले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै बिहिबार उक्त रकम वरावरको विगो दावी सहित मुद्दा दर्ता गरेको जनाएको छ ।

२०३८ साल पुस १२ गते ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६ असार ५ गते सिनियर डिभिजनल इन्जिनियर पदबाट अवकाश भएको गुप्ताले सो अवधिसम्म गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।

गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७।०९।२९ सम्मको वैध आय १ करोड ११ लाख ६९ हजार ९६२ आर्जन गरेको र सोही अवधिमा निजले १७ करोड ८४ लाख २६ हजार ४५९ खर्च तथा लगानी गरेको पुष्टि भएको अख्तियारको भनाई छ ।

गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) को कसुरको मतियारको कसुरमा बिगो १६ करोड ७२ लाख ५६ हजार ४९६ कायम गरी सजाय हुन मागदावी सहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

आरोपी काशी प्रसाद गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली रकम लुकाई छिपाई राखेको पाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस