समाचार

डोटीमा जीप दुर्घटना, १२ घाइते, दुई जनाको अवस्था गम्भीर

road accident

२६ भदौ, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए ।  चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस