२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र फुटपाथ पसल तथा ठेला व्यापारमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहललाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्रमा महानगरपालिकाभित्र फुटपाथ पसल तथा ठेला व्यापारका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै पूर्ण प्रतिबन्ध लगाउन माग ध्यानाकर्षण गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।’ भनिएको छ ।
जसमा असन्तुष्टि जनाउँदै महानगरको तर्फबाट उपमेयर खड्गीले प्रशासनको ध्यानाकर्षण गराएकी हुन् ।