
२७ भदौ, काठमाडौं । गुणस्तरहीन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।
जगदम्बा र मंगलम दुई उद्योगबाट उत्पादित वस्तुकोे नमूना संकल गरि विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरुप नपाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो ।
परीक्षण गर्दा दुबै उद्योगको उत्पादन न्यून गुणस्तरको पाइएकाले शुक्रबार बसेको विभागको निर्णयले नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडी बढाईएको विभागले जनाएको छ ।
जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनु पर्नेमा ०.५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ ।
यस्तै मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनु पर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टील्सको बिक्री वितरणमा रोक लगाउनाका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ ।
यसअघि यी दुबै कम्पनीको उत्पादन कमसल पाइएको भन्दै उपभोक्ताहरुले उचित छानविन गर्न विभागमा उजुरी हालेका थिए ।