२७ भदौ, धनुषा । जनकपुरधाममा सामाजिक सञ्जालमा स्थानीय मुस्लिम समुदायले मोहर्रम पर्वका लागि बनाएकाे दाहा (झण्डा जस्ताे देखिने प्रतिमा) को तस्बिर राखेको निहुमा भएकाे विवादले झडपकाे रुप लिएकाे छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा एक हिन्दु युवाले मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई लिएर हिन्दु मुस्लिमबीच विवाद भएको हो ।
केही दिन अगाडि हिन्दु युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरे लगत्तै मुस्लिम समुदायले हाम्रो धर्म संस्कृतिको तस्विर गैरमुस्लिम समुदायले किन राखेको भन्दै आक्रोशित हुँदै गएपछि विवादले उग्ररुप लिएको थियो ।
जसले गर्दा हिन्दु र मुस्लिम समुदायबीचको उग्र विवादपछि सामाजिक सद्भावमा खलल पुगेको छ । मुस्लिम समुदायले हिन्दु समुदायले दाहा अंकित झण्डामा आगो लगाइदिएको आरोप समेत लगाएको छ ।
देवपुरा रुपैठामा स्थितिलाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १५ वटा अश्रुग्यास प्रहार गरेको छ ।
आक्रोशित मुस्लिम समुदायहरुले भने सडक जाम गर्दै केहि पसलहरु समेत तोडफोड गरेका छन् । शनिबार बिहानदेखि नै सुरु भएको उच्छृंखल गतिविधि नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि हिन्दु र मुस्लिम समुदाय पक्षबीच वार्ता गर्ने तयारी भइरहेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले वार्ताो तयारी भएको जानकारी दिँदै भीडलाई नियन्त्रणमा लिनका लागि करिब १५ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको बताए ।
विवादको क्रममा मोहरम्मका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले एक किराना पसलमा समेत तोडफोड गरेको छ। यद्यपि दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झडलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित ६० जनाको टोली खटाइएको छ।