
२८ भदौ, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एबं भक्तपुर स्थित ऐतिहासिक चाँगुनारायण नगरपालिका बीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।
नगरपालिकाले संचालन गर्न लागेको ‘वचतखाता छोरीको, सुरक्षाजीवन भरीको’ कार्यक्रमअन्र्तगत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष रु. चार हजार जम्मा गर्दै जाने ब्यबस्था मिलाईनेछ ।
सम्झौता अनुसार शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम ब्याजदर प्रदान गर्ने तथा अन्तर बैंकिङ सेवामा कुनैपनि शुल्क नलाग्ने बताइएको छ। यसैगरी नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा तीन लाख रुपैयाँसम्मको निक्षेप बीमा समेत गरिने सम्झौतामा उल्लेख छ ।
यस प्रकारका खातामा बालिका आफैँले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरेपछि मात्र झिक्न पाउनेछन् । नगरपालिका र नेपाल बैंकबीच “मेयर उद्यमशिलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धी सम्झौता समेत भएको छ । यस अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिईने जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल बैंकले हाल १ सय ८९ वटा शाखाहरु, १ सय २५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २ सय १४ पुर्याउने समेत बैंकले जनाएको छ ।