
२८ भदौ, दाङ । दाङमा कारोना रोकथामका लागि गरिएको आंशिक लकडाउन खुकुलो हुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले दुई हप्तादेखि जारी बन्दाबन्दी सोमबारबाट खुकुलो हुने भएको हो ।
बैठकले भोलि बिहान ६ देखि साँझ ७ बजेसम्म व्यापार व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । रातिको समयमा भने पूर्ण रुपमा लकडाउन गरिने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै जान थालेपछि जिल्लामा भदौ १५ गतेदेखि पूर्ण रुपमा लकडाउन गरिएको थियो ।
एक साताको पूर्ण लकडाउनपछि भदौ २१ देखि आजसम्मका लागि आंशिक लकडाउन गरिएको छ । दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म बजार सञ्चालन हुँदै आएकामा जारी आंशिक लकडाउनलाई खुकुलो बनाएको जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु गर्ने र व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय गरिएको प्रजिअ रिजालले जानकारी दिए । लकडाउन खुकुलो पारिए पनि गोष्ठी, सभा, सम्मेलन, जुलुस, महोत्वस, जात्रा र कुनै पनि किसिमका भिड हुने क्रियाकलापमा पूर्ण रोक लगाइएको छ ।
उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुलाई खान बस्नका लागि आबश्यक व्यवस्था उद्योगले नै गर्नुपर्नेछ । दाडमा पछिल्लो समय व्यावसायीहरुले लकडाउन खुल्ला गर्न माग गर्दै आएका थिए ।