समाचार

घिसिङको कार्यकाल सकियो, पुनर्नियुक्ति अन्योलमा

Kulman Ghising

२९ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिएको छ । सरकारले घिसिङलाई चारवर्षे कार्यकालका लागि ०७३ भदौ २९ मा नियुक्ति दिएको थियो ।

ऊर्जा मन्त्रालय र घिसिङबीच भएको कार्यसम्पादन सम्झौताअनुसार उनको कार्यकाल ०७३ भदौ ३१ देखि ०७७ भदौ ३० सम्म हो । घिसिङले भने आफ्नो सचिवालयलाई सोमबारदेखि कार्यालय नआउने जानकारी गराएको प्राधिकरण स्रोतले बताएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि लोडसेडिङ अन्त्य, घाटामा रहेको संस्थालाई नाफामा लगेको र चुहावट नियन्त्रणको जस पाएका घिसिङ सर्वसाधारणमाझ लोकप्रिय मानिन्छन् । उनको पुनर्नियुक्तिका विषयमा भने सरकार हालसम्म मौन छ । सम्भवतः सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकमा सोमबारै घिसिङको कार्यकाल दोहोर्‍याउने निर्णय नभए निमित्तको जिम्मेवारी तोकिने सम्भावना रहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ ।

आइतबार साँझसम्म पनि घिसिङलाई पुनर्नियुक्ति दिने कि नदिने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । ‘केही गरी बालुवाटारबाट ग्रिन सिग्नल आए तत्काल लैजाने गरी प्रस्ताव भने तयारी अवस्थामा छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेकपाका कार्यकारी अध्यक्ष दाहालले घिसिङलाई पुनर्नियुक्ति दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरिरहेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच प्राधिकरणको कार्यकारी निर्देशकको पद सकिने दिनसम्म नियुक्तिबारे छलफल चलिरहेपछि मन्त्रालयले प्रस्ताव अघि बढाइहाल्ने तयारी गरेको छैन । ‘शनिबारसम्म पनि घिसिङको पुनर्नियुक्ति हुने सम्भावना जीवित थियो,’ मन्त्रालय स्रोतले भन्यो । घिसिङको कार्यकाल सकिनु अन्तिम दिन आइतबार मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई कार्यकारी नियुक्तिका लागि हुने प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेका थिए ।

‘नेकपाका कार्यकारी अध्यक्ष दाहाल घिसिङलाई पुनर्नियुक्ति दिने पक्षमा भए पनि बालुवाटारले सहमति नजनाएपछि उनी दोहोरिने सम्भावना कम हुँदै गएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अब प्रतिस्पर्धाबाट नयाँ कार्यकारी निर्देशक नियुक्त हुने सम्भावना बढी छ ।’ दाहाल नेतृत्वको सरकार भएका बेला तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । कार्यकारी निर्देशक हुनुअघि घिसिङलाई चिलिमे जलविद्युत् आयोजनाबाट प्राधिकरण मुख्यालय तानेर जिम्मेवारविहीन बनाइएको थियो । तर लोडसेडिङ अन्त्यको जस आफैंले लिएको, सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत अघि सारेका कार्यक्रमको जस पनि आफैंले लिने गरेको भन्दै घिसिङसँग प्रधानमन्त्री निकटको समूह रुष्ट बनेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निकट समूहले घिसिङलाई नेकपाका अर्का कार्यकारी अध्यक्ष दाहाल निकट ठान्ने गरेको छ । आफूसँग बालुवाटार चिढिएपछि घिसिङले आफ्नो सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै लोडसेडिङ अन्त्य, प्राधिकरणलाई नाफामा लगेको सफलता र अन्य उपलब्धि राजनीतिक नेतृत्व र सरकारको निर्देशनमा भएको भन्दै विज्ञप्ति नै जारी गर्नुपरेको थियो । आइतबार अबेर बालुवाटार पुगेर कार्यकारी अध्यक्ष दाहालले अझै पनि घिसिङलाई पुनर्नियुक्ति दिन प्रधानमन्त्री ओलीलाई मनाउने प्रयास गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले केही साताअघि नै ऊर्जामन्त्री पुनलाई बालुवाटार बोलाएर घिसिङबारे छलफल गरेका थिए । घिसिङले प्राधिकरणअन्तर्गत हुने सबै कामको जस आफूले लिने गरेको र राजनीतिक नेतृत्वले भनेको कुरा नमान्ने गरेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *