समाचार

नेपाल–भारत क्षेत्रमा नेपाली युवामाथि गोली प्रहार

gun fire

२९ भदौ, विराटनगर । मोरङको विराटनगर मटेरुवा हुँदै भारततर्फ छिरेका एक नेपाली युवामाथि नेपाल–भारत सीमा क्षेत्रमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली प्रहार भएको हो ।

उनीमाथि भारततर्फको भूमिमा गोली हानिएको छ । भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्ने घटनास्थल मटेरुवा प्रहरी चौकीबाट लगभग ३० मिटर मात्रै पश्चिममा छ । त्यहाँ सशस्त्र प्रहरी पनि परिचालित छ । तर सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले घटना भएका बेला कुनै जानकारी पाउन नसकेको बताएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण अहिले सीमा क्षेत्रबाट दुई देशबीचको आवतजावत बन्द गरिएको छ । सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ लागेका मण्डलमाथि केही पर पुग्गेपछि गोली प्रहार भएको खुलेको छ।

सीमा कट्नसाथ दशगजाको भारततर्फ क्यारम खेलेर बसिरहेका भारतीय युवाले विवाद गरेर आफूमाथि गोली प्रहार गरेको जानकारी मण्डलले नेपाल प्रहरीलाई गराएका छन् । विवादका क्रममा क्यारम खेलिरहेकामध्ये भारत जोगवनीका अन्दाजी २५/३० वर्षीय मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ । गोली प्रहारपछि ढलेका मण्डललाई घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचारका लागि पुर्‍याएको खुलेको छ । नेपाल प्रहरीका अनुसार क्लिनिक सञ्चालकले गोली प्रहार किन गरेको भनेर सोध्न थालेपछि घटनामा संलग्न यादवले त्यहाँ पनि आफूसँग रहेको पेस्तोल निकालेर तीन राउण्ड हवाईफायर गरेको पाइएको छ ।

तीन राउण्ड फायर गरेपछि यादव त्यहाँबाट फरार बनेको भारतीय प्रहरीलाई उद्रित गर्दै नेपाल प्रहरीले जनाएको छ । हवाईफायर भएपछि जोगवनीमा भागदौड मच्चिएको थियो । त्रासका कारण स्थानीयबीच भागदौड हुन थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल छिरेर ज्यान बचाएको घाइते मण्डलले जानकारी दिएका छन् ।

साँझ लगभग ७ बजेतिर नेपाल छिरेका उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए । मटेरुवा हुँदै विराटनगर आएका उनलाई प्रहरीले राति ९ः३० बजेतिर रोडशेष चोक नजिक फेला पारेर उपचारका लागि कोशी अस्पताल ल्याएको थियो ।

उपचारमा संलग्न चिकित्सकले खुट्टाको औंलामा गोली प्रहारबाट प्वाल परेको पुष्टि गरेको प्रहरीले जनाएको छ । एसपी खड्काले कोरोना महामारीका कारण सीमा क्षेत्रबाट आवतजावतमा रोक लगाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल किन भारततर्फ गए भन्ने बारेमा पनि खोजी थाल्दै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनले घटनामा संलग्नलाई कारबाही गर्नका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको बताएका छन् ।

मण्डलले भने मावली जोगवनी रहेको र आमा पनि उतै बस्ने भएकाले आफू गएको बताएका छन् । तर प्रहरीले भने उनी लागुऔषधका सेवनकर्ता भएको जानकारी दिएको छ । भेट्टाएका बेला उनी लागुऔषधको नशामा रहेको प्रहरीले जनाएको छ । मण्डलले पनि आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका छन् ।

भारतीय प्रहरीले पनि घटनाका बारेमा चासो दिँदै गोली प्रहार गर्नेको खोजी तीव्र बनाइएको जानकारी नेपाल प्रहरीलाई दिएको छ । भारतीय भूमिमा घटना भएकाले त्यसको अनुसन्धान र कारबाही भारतीय प्रहरीले अघि बढाउने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस