२९ भदौ, पर्वत । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । सिर्सुवाका नवीन विकको घर पुरिँदा उनकी ४ वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो ।
मृतक बालिकाको शव केहि बेरअघि निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिए । पहिरोमा पुरिएर नविन बिककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाइते भएका छन् । घर पुरिंदा घाइते भएकाको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो ।
स्थानीय घनश्याम भुसालका अनुसार पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैंसी र एक गोरु समेत पुरिएको छ । बिहान चार बजेको समयमा पहिरो आएर घर पुरिएको भुसालले बताए । पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीले उद्धारको काम गरिरहेका र विस्तृत विवरण आउन बाँकी रहको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।