२९ भदौ, काठमाडौं । विश्वमा एकैदिन तीन लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । आइतबार तीन लाख सात हजार ९३० जना संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सेप्टेम्बर ६ मा तीन लाख ६ हजार ८५७ नयाँ संक्रमित फेला परेका थिए । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण पाँच हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ ।
यससँगै विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ । डब्ल्यूएचओको अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै नयाँ संक्रमित भारत, अमेरिका र ब्राजिलबाट थपिएका छन् ।
विश्वभर कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या दुई करोड ८० लाख नाघिसकेको छ । जसमध्ये आधा संक्रमित उत्तर र दक्षिण अमेरिकामा फेला परेका छन् ।
यो अवधिमा भारतमा ९४ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए भने अमेरिकामा ४५ हजार तथा ब्राजिलमा ४३ हजारभन्दा धेरै संक्रमित फेला परेका थिए । यो अवधिमा भारत र अमेरिकामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो भने ब्राजिलमा ८७४ जनाको मृत्यु भएको थियो ।