समाचार

ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म सार्वजनिक खरिद तथा ठेक्कामा भाग लिन नपाउने

ppmo

२९ भदौ, काठमाडौं । सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको कम्पनी ओबीसीआई प्रालि (ओम्नी) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो, २८ भदौदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेपछि यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउँदैन । ललितपुर कृष्णगल्ली कार्यालय भएको र तुलहरी सिंह प्रमुख व्यक्ति रहेको ओबीसीआई प्रालिलाई स्वास्थ्य सेवा विभागको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गरेको थियो । स्वास्थ सेवा विभागले ओम्नीले स्वास्थ मन्त्रालयले बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्यमा स्वास्थ्य सामाग्री ल्याएको तथा सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेको भन्दै सम्झौता रद्ध गरेको थियो ।

कोरोनाको संक्रमण देखिएसँगै विभागले ओम्नी समूहसँग स्वास्थ उपकरण खरिदका सम्झौता गरेको थियो । तर विना प्रतिष्पर्धा महंगो मुल्यमा स्वास्थ्य उपकरण ल्याउन लागेको भन्दै ओम्नी समुह र सरकारको आलोचना भएको थियो ।

आलोचनाबाट बच्न स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्ध गरेको थियो । साथै ओम्नीलाई कालोसूचीबाट बचाउनका लागि विभिन्न राजनीतिक दलले चलखेल गरेको आरोप लागेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस