अर्थनीति

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा बढ्यो मूल्य

onions

३० भदौ, काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो । दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाले भारतमा पनि मूल्य अचाक्ली बढिरहेको छ । कर्नाटक, आन्ध्र प्रदेशलगायतका दक्षिण भारतीय राज्यमा लगातारको वर्षाले प्याजको उत्पादनमा क्षति पुगेको छ ।

भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक हो । नेपाललगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन् ।

भारतको सबैभन्दा ठूलो प्याज मण्डीका रुपमा परिचित महाराष्ट्रको लासलागावँमा प्याजको थोक भाउ ३० हजार भारतीय रुपैयाँ प्रतिटन(प्रतिकिलो ३० भारतीय रुपैयाँ) पुगेको टाइम्स अफ् इन्डियाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस