
३१ भदौ, काठमाडौं । हत्या गरेको १ वर्षपछि श्रीमतीसहित दुई जनालाई पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
गैंडाकोट नगरपालिका १८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा उनका श्रीमती सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका छन् ।
२०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको उजुरी पछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतीरहेका धन बहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगि खाल्टो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै उनीहरुको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडीगलिसकेको अबस्थामा मानब कंकाल फेला परेको छ । हत्या अभियोगमा पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।