समाचार

दक्षिणकालीलाई नासपाती र लप्सीसँगै पर्यटकीयस्थलका रुपमा विकास गरिने

dakshinkali

३१ भदौ, काठमाडौं । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ।

वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ। फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ। वडा नं ९ को हुमाने भञ्ज्याङलाई लप्सी ब्लकका रुपमा घोषणा गरिएको छ। वडा नं ८ को राम्चे भञ्ज्याङलाई समेत लप्सी ब्लकका रुपमा विकास गर्न लागिएको छ। नासपाती र लप्सी राम्रो हुने नगर क्षेत्रलाई दुवै उत्पादनको उदाहरणीयस्थलका रुपमा विकास गर्ने गरी नगरपालिकाले पनि बजेट विनियोजन गरेको नगर प्रमुख मोहन बस्नेतले राससलाई जानकारी दिनुभयो।

नगरपालिकाको वडा नं ६ र ७ लाई फूल व्यवसायको हबका रुपमा विकास गर्न लागिएको पनि उहाँले सुनाउनुभयो। नौ वटा वडा रहेको नगर क्षेत्रका प्रत्येक वडालाई एक/एक उत्पादनको हबका रुपमा विकासका लागि पूर्वाधार तयार पारिएको नगरपालिकाले जनाएको छ।

चम्पादेवीमा वैदिक ग्राम
नगरपालिकाको चम्पादेवीमुनि रहेको ह्वाइटहाउस डाँडाबाट काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका महत्वपूर्णस्थल देखिने भएकाले यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ। चम्पादेवीको २७ रोपानी जग्गामा नेपाल महर्षि वैदिक फाउन्डेसनले वैदिक ग्राम निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। दशैँअघि नै उद्घाटन गर्ने गरी वैदिक ग्रामको काम भइरहेको नगर प्रमुख बस्नेतले बताए।

प्राचीनकालदेखि नै प्रसिद्ध तीर्थस्थलको पहिचान बनाएको दक्षिणकालीमा वैदिक ग्रामको निर्माणसँगै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने आशा नगरपालिकाले लिएको छ। ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानको विश्वव्यापी प्रचारप्रसारमा लागेका महर्षि महेश योगीका अमेरिकाका चेलाको विशेष सहयोगमा चम्पादेवीमा वैदिक ग्राम निर्माण भइरहेको छ।
वैदिक ग्राममा ध्यान साधनास्थल, वैदिक यज्ञस्थल, वैदिक पण्डितको आवासीयस्थल, प्रशिक्षणस्थललगायत संरचना तयार भइरहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले बताए।

याङ्लासीमा शैक्षिक पर्यटन प्रवद्र्धन गरिने
वडा नं ५ मा रहेको विश्वभरका बौद्धमार्गीको पवित्रतीर्थस्थल याङ्लासीलाई शैक्षिक पर्यटनका रुपमा अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ। यो स्थलमा अहिले पनि वार्षिक हजारौँ बौद्धमार्गी विश्वका विभिन्न स्थलबाट आउने गरेका छन्। यहाँको माटोलाई विश्वका बौद्धमार्गीले निधारमा लगाएर श्रद्धा प्रकट गर्ने गरेका छन्।

नेपालकै पहिलो र दक्षिण एशियाको दोस्रो चन्द्रज्योति जलविद्युत् गृहलाई वाग्मती प्रदेश सरकारको सहयोगमा पर्यटकीय केन्द्रका रुपमा अघि बढाउन लागिएको छ। विद्युत् गृह नगरपालिकाको वडा नं ३ मा पर्छ। कोरोनाको सङ्क्रमण फैलनुअघि बिदाका दिन हजारौँ विद्यार्थीसमेत विद्युत् गृह हेर्न आउने गरेका थिए।

वडा नं ३ वडामा रहेको हात्तीवन रिसोर्टका कारण पनि नगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ। वडा नं ४ वडामा रहेको अग्लो डाँडालाई पिक स्पटका रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिने छ। वडा नं २ लाई प्रदेश सरकारले तरकारी ब्लकका रुपमा घोषणा गरेको छ।

उपत्यका जलमग्न हुँदा नै दक्षिणकाली वडा नं ६ बस्ती थियो भन्ने विश्वास गरिन्छ। शिखरापुर भनिने यो नगरमा राजा पचलीभैरवले समेत शासन गरेका थिए भन्ने भनाई बुढापाकाको रहिआएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिइन।

हरिशङ्कर यात्राको मुख्य मन्दिर गोपालेश्वर, पौराणिक पात्र वाणासुरको छोरी उषामैयाँको दरबारसमेत वडा नं ६ को जङ्गलमा रहेको विश्वास गरिन्छ। यो स्थलमा अहिले पनि दरबारको भग्नावशेष रहेकाले उत्खनन गर्न पुरातत्व विभागलगायतलाई नगरपालिकाले अनुरोध गरेको छ। यहाँ भगवान् कृष्णसँग सम्बन्धित जात्रा पनि चलाइने परम्परा छ।

वडा नं ९ मा वाणासुरको दरबार रहेको विश्वास गरिन्छ। यो स्थललाई पनि उत्खनन गरेर ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न सके नगरपालिकामै वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिने विश्वास गरिएको नगर प्रमुख बस्नेत बताउँछन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस