१ असोज, विराटनगर । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो । १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए । किस्ता तिर्न र खान पुगिरहेकै बेला कोरोना महामारीले बस नकुदेको ६ महिना भयो । यो अवधिमा न उनले ६ जना स्टाफ पाल्न सकेका छन् न त बैंकको किस्ता र गाडी मर्मत गर्न नै ।
लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय सुनेर बसको अवस्था हेर्न पुगेका बस्नेतलाई अझै ऋण थपिने निश्चित भएको छ । ‘बसमा खिया परेको छ। टायर मकाएका छन् । ब्याट्री डाउन भएर गाडी स्टार्ट नै हुँदैन’, उनी भन्छन्, ‘अब कन्डिसनको बनाएर सडकमा निकाल्न अझै चार लाख खर्च हुन्छ ।’
अर्का यातायात व्यवसायी उत्तम चौलागाईंका दुईवटा बस विराटनगर–भोजपुर रुटमा चल्थे । बैंकबाट ऋण झिकेका चौलागाईंका दुवै बसका टायर कामै नलाग्ने भएका छन् । ब्याट्रीले काम गर्दैन । किस्ता, कर र बिमा सबैको अवधि सकिएको छ । बैंकबाट किस्ता तिर्न भन्दै फोन मात्रै हैन कर्मचारी नै घरमा धाउन थाल्दा मानसिक तनाव बढेको उनी बताउँछन् ।
‘केही आम्दानी होला भनेर यो व्यवसायमा लाखौं रकम लगानी गरें । यो महामारीले गेरु बस्त्र लगाउने बनाउला जस्तो छ’, उनी भन्छन्, ‘सबै क्षेत्र चलायमान बनाउने सार्वजनिक यातायातको समस्या कसैले बुझिदिएन ।’
पोखरा, धनगढी र काँकडभिट्टामा ठूला बस सञ्चालन गर्दै आएका जीवन खनालको समस्या उस्तै छ । सरकारले यातायात खुलाउने निर्णय गर्नु राम्रो कुरा भए पनि व्यवसायी सबै ठूलो आर्थिक भारमा परेकाले केही राहत प्याकेज ल्याउनुपर्ने उनको माग छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।
मजदुरको झन् बिजोग
विराटनगरस्थित बसपार्कमा दैनिक चहलपहल भइरहन्छ । कुनै बसभित्र गीत बजेको सुनिन्छ । राति बत्ती पनि बल्छ । बेलाबेला बस घ्यारघ्यार घुरघुर पारेर स्टार्ट पनि गर्छन् । बसपार्कमा यताउता गर्ने र बसमै सुत्नेको संख्या पनि कम छैन । उनीहरू बसका सहचालक (खलासी) र केही चालक नै हुन् ।
यस्ता मजदुर बसपार्कमा ५७ जना छन् । उनीहरू बस कुद्न छाडेदेखि यसरी बस्दै आएका छन् । गाडी मालिकले बस नकुदेको समयमा उनीहरूलाई व्यवस्थापन गर्न नसक्ने बतायो । त्यसपछि निःशुल्क बाँडेको खान खाने र राति बसमै सुतेर समय बिताउने गरेको दुर्गा सुनार बताउँछन् ।