१ असोज, पाल्पा । तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।
तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको थियो । कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए । बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुन: तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।
बुटवल र भैरहवाकाे विभिन्न अस्पतालमा भर्ना नलिएपछि फर्काइएका संक्रमितकाे मिसन अस्पतालमै मृत्यु भएकाे हाे ।