समाचार

जनकपुरमा बन्यो ४० शैय्याको सुविधा सम्पन्न आइसोलेसन

isolation

१ असोज, जनकपुर । कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै बिहीवार जनकपुरमा ४० शैय्याको सुविधा सम्पन्न आइसोलेसन बनाइएको छ । जनकपुरधाम-७ भ्रमरपुराचोकस्थित राम जानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बनाइएको हो ।

महेन्द्र नारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर-७ को सहयोगमा सो विद्यालय भवनमा आइसोलेसन निर्माण गरिएको हो । राम जानकी प्राथमिक विद्यालयमा बिजुली, पानी लगायतको व्यवस्थापनसहित सुविधा सम्पन्न आइसोलेसन बनाइएको विद्यार्थी नेता सुजित मिश्रले जानकारी दिए ।

उनले कोरोना संक्रमणको अवस्था अहिले समाप्त नभएको अवस्थामा लामो दूरीको यातायातका साधनहरु समेत सञ्चालनमा आइसकेकाले भोलिको दिनमा संक्रमित बढ्नसक्ने अनुमान लगाउँदै यसको पूर्वतयारीको समेत आवश्यकता रहेको बताए ।

उनले यस्तो अवस्था आएमा जनकपुरमा आइसोलेसनको अभाव रहेकोले यस आईसोलेसनबाट कोरोना संक्रमितलाई स्वास्थ्य लाभ मिल्ने स्पष्ट पारे । कोरोनाको महामारी बढ्दै गएपछि महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले छुट्टै आइसोलेसन संचालनमा ल्याएको छ ।

आइसोलेसनमा बस्ने संक्रमितहरुका लागि विद्युत्, खानेपानी र शौचालयको समुचित व्यवस्थापनका साथ वाइफाई समेत जडान गरिएको नेता मिश्रले जानकारी दिए ।

नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का सभापति कन्हैया लाल कर्ण, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, सानो पाइलाका राहुल झा लगायतका व्यक्तिहरुले नवनिर्मित आइसोलेसन सेन्टरको अवलोकन गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस