
२ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ ।
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार ६३ पुगेको छ । शुक्रबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।
कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार ६ सय ४९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस