समाचार

ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भयो : कृषिमन्त्री भुसाल

ghanashyam bhusal

२ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए । विषतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडी बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उनले बताए ।

उनले भने, ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो। त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो। सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ ।

असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आए रवितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेति भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेति पनि बढेको उनले बताए । विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाई छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस