समाचार

नेपालको इतिहासमा पहिलो पटक ब्रोडगेज रेल

nepali train 1

३ असोज, काठमाडौं । न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ । न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो ।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो । त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पु¥याएको थियो । पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे ।

त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो । जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो । करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो । पछि डिजेल इन्जिन सुरु भयो । त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो । पछि त्यसमा मानिस बस्ने बोगी थपियो । ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो । यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रूत सम्पर्क पनि रोकियो । जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो । कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु ।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ । जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि शुक्रबार जनकपुर–जयनगरसम्म रेल सेवा परीक्षण सुरु गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस