३ असोज, सर्लाही । सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम पक्षबीच भएको झडपलाई लिएर आइतबार बिहान ८ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद झडपमा परिणत हुन थालेपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।
बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
दुई समूहबीचको झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । घटनालाई साम्य पार्न बिहानैदेखि दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल जारी छ । दुवै पक्षबाट धेरै मानिसहरु जम्मा हुन थालेपछि अप्रिय घटना नहोस् भन्ने अभिप्रायले कर्फ्यु आदेश जारी गरिएको प्रजिअ पौडेलले बताए ।