समाचार

उपत्यकामा मात्रै ६ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

covid 19 test

३ असोज, काठमाडौं । कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिन थालेको हो ।

संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेको छ । संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा संक्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी संक्रमण भएको बताए ।

उपत्यकामा अहिलेसम्म १५ हजार १३८ जना संक्रमण भइसकेका छन् । शुक्रवार मात्रै ८५९ जना संक्रमण भएका थिए । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उनले संक्रमणमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए । अहिले अस्पतालमा २७ जना मात्र स्वास्थ्यकर्मी सक्रिय संक्रमण छन् ।

यस्तै वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् । संक्रमणमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उनले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जनामा संक्रमण देखिएको छ । तीमध्ये २ चिकित्सक र अन्य नर्स रहेका छन् ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले २ चिकित्सक र १ जना नर्सको निको भइसकेको र अन्य ५ जना होम आइसोलेसनमा रहेको जानकारी दिए । अहिले मुलुकभरि ६१ हजार ५९३ जनामा संक्रमण देखिएको छ भने ४३ हजार ८२० जना संक्रमण निको भएर घर फर्किसकेका र ३९० जनाको संक्रमणबाट निधन भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस