
३ असोज, काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघबाट ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण रोजीरोटी गुमेर दैनिक जीवनयापन गर्न समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् ।
चलचित्र प्राविधिक संघद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा नायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले १ सय १३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताए । उनले, यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे । उनले, भोली समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नायक हमालले देश बाहिर रहेका केही आफ्ना साथीहरुले समेत यसमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । नायक हमालले समस्यामा परेको समयमा आफूहरुलाई संझिएको भन्दै प्राविधिकहरुले खुशी व्यक्त गरेका थिए ।