४ असोज, काठमाडौं । गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए । यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ । अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए । आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ ।
लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो । उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन् । तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए ।
भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ । त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए । पहिला भवन बनाउने बेला लिमीवासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको अध्यक्ष तामाङको भनाइ छ । उनले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिकासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको सुनाए ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए । त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।