
४ असोज, काठमाडौं । बेलायती सरकारले सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई १० हजार पाउन्ड जरिवाना तिर्नुपर्ने भएको छ ।
बेलायतमा काेराेना परीक्षण गर्दा नतिजा पोजेटिभ आएका तथा संक्रमितसँग सम्पर्कमा रहेकाहरुले ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्नेछ । याे नियम २८ सेप्टेम्बरदेखि अनिवार्य लागू गरिन लागेकाे छ भने नियम उल्लंघन गर्नेलाइ जरिवानाकाे व्यवस्था गरिँदै छ ।
समाचार एजेन्सीहरूका अनुसार त्यहाँ अहिलेसम्म आइसोलेसनमा बस्न निर्देशिका मात्रै जारी गरिएको थियो । तर अब यसलाई अनिवार्य बनाइएको र जरिवाना १ हजार पाउण्डदेखि सुरु भएर १० हजार पाउण्डसम्म लाग्न सक्नेछ । नियम उल्लंघन दोहोरिएअनुसार नै जरिवाना थपिँदै जाने बताइएकाे छ ।
यो नियम रोजगारदातालाई पनि लागू हुने बताइएकाे छ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ ।