
५ असोज, काठमाडौं । संसदीय समितिले कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरि क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
संसद्को विकास तथा प्रविधि समितिले २०७७ कार्तिक ७ गतेभित्र बोर्ड गठन गरि ऐनको दफा ६ अनुसार डाउन लिंक अनुमित लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।
समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।