६ असोज, काठमाडौं । कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले टी–२० इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । उसले सनराइजर्स हैदराबादलाई १० रनले हराउँदै जित निकालेको हो ।
आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट हुन पुग्यो ।
योसँगै विराट कोहली आईपीएलमा कप्तानको रुपमा एक टोलीलाई ५० खेल जिताउने चौथो कप्तान बनेका छन् । यो सूचीमा गौतम गम्भीर, महेन्द्रसिंह धोनी र रोहित शर्माको नाम छ ।
आरसीबीको जीतमा युजवेन्द्र चहल नायक बने । उनले मात्र १८ रन खर्चेर ३ विकेट लिए । उनले हैदराबादका जोनी ब्रेस्ट्रो र मनीष पान्डेको महत्त्वपूर्ण विकेट लिए । दुवैले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । यो साझेदारी तोड्नु नै खेलको टर्निङ प्वाइन्ट बन्यो ।
१६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादको शुरुवात खराब रह्यो । कप्तान डेविड वार्नर मात्र ६ रन बनाएर आउट भए । ब्रेस्ट्रोले ६१ र पान्डेले ३४ रन बनाउँदै हैदराबादलाई सम्हाले । तर, हैदराबादका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकेपछि टोली पराजित हुन पुग्यो ।
यसअघि आरसीबीका लागि आफ्नो डेब्यू खेलमा देवदत्त पडिक्कलले ५६ रन बनाए । त्यस्तै, एरोन फिन्चले २९ बनाउँदै पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । त्यसपछि एबी डिविलियर्सले ५१ रनको योगदान दिए ।