
६ असोज, काठमाडौं । जुम्लाबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सत्याग्रहका लागि आएका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगेको छ ।
सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा लगेको जानकारी दिए । केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको छ । आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।
जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए ।