
६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निरिक्षण गरेको छ । क्यानको कार्य समिति बैठकका लागि चितवन पुगेका पदाधिकारीहरुले मंगलबार बिहान गौतम बुद्ध रंगशाला अवलोकन गरेका हुन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माण भइरहेको रंगशालाको अवलोकन गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानको कार्य समिति बैठकका बोर्ड सदस्यहरुको टोली मंगलबार बिहान चितवन पुगेको थियो ।
“नेपालभित्र यति ठूलो संरचना बन्नु क्रिकेट विकासका लागि निकै राम्रो कुरा हो । त्यसैले एकदमै सकारात्मक सोच लिएर गएका हौं,” क्यानका सचिव प्याकुरेलले भने । क्यानका पदाधिकारीहरुले धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगै रंगशालाको अवलोकन गरेका थिए । त्यस्तै निर्माणाधीन रंगशालाबारे फाउन्डेसनका अध्यक्ष कट्टेलसँगै जानकारी लिइएको प्याकुलले बताए ।