खानपान

दसैंका ३ हजार खसी-बोका किन्दै खाद्य संस्थान

goat sell

६ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी-बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन् । कति संख्यामा खरिद गर्ने भन्‍ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्‍ने विषयमा गृहकार्य भइरहेको उनले बताइन् ।

संस्थानले विगत वर्षजस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै, संस्थानले विभिन्न स्थानमा सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उनले बताइन् । एकीकृत रुपमा, आफ्नै आउटलेट तथा घुम्ती भ्यानबाट गरेर बढी भन्दा बढी स्थानमा सुपथ मुल्य पसल सञ्चालन गरिने उनले जानकारी दिइन् ।

संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको थियो ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यसपटक खाद्यले खसी-बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी-बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४ सयवटा खसी-बोका र १६ सयवटा च्याङ्ग्रा ल्याएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस